|  

मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनमा सरकारमाथि सांसद भण्डारीको प्रश्न

२० भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले बजारमा व्याप्त मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनको फितलो अवस्थालाई लिएर सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा राजधानीमा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको आलोचना गरेका हुन् । सांसद भण्डारीले हाल संसदको बैठक नभएका कारण बजारको बेथिति र जनसरोकारका विषयहरू ओझेलमा परेको जस्तो देखिए पनि आगामी २४ गतेदेखि शुरु हुने संसद बैठकमा यी मुद्दाहरू सशक्त रूपमा उठ्ने बताए । आफू गरिब र विपन्न वर्गको प्रतिनिधित्व गर्दै सङ्घर्ष गरेर यो स्थानमा आइपुगेको उल्लेख गर्दै सांसद भण्डारीले आफ्नो वर्गीय पक्षधरता सधैँ उपभोक्ता र कमजोर वर्गकै पक्षमा रहने स्पष्ट पारे । उनले अत्यावश्यक वस्तु ग्यासको मूल्यलाई मासुको मूल्यसँग तुलना गरिनु तर्कसङ्गत नभएको भन्दै मूल्यवृद्धिको विषयमा आफ्नो गम्भीर असहमति रहेको जनाए । उनले भने,‘अहिले संसद् नभएकाले मात्र वातावरण शान्त देखिएको हो । आगामी २४ गतेपछि सदनमा यी विषयहरू प्रवेश पाउनेछन्, त्यसपछि मात्र विभागीय मन्त्री र निगमका कार्यकारी निर्देशकले वास्तविक दबाब महशुस गर्नुहुनेछ । हामी नीति निर्माण र अनुगमनको तहमा छौँ, त्यसैले जनसरोकारका विषयलाई उजागर गरिरहन्छौँ ।’

उनले कार्यान्वयन, डेलिभरी र नियमन गर्ने निकायको जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न उठाउनु सांसदहरूको दायित्व भएको बताए । सत्तापक्षमा भएपनि जनहितका सवालमा आफूले अन्धसमर्थन नगर्ने र उपभोक्ताको समस्यालाई नै प्राथमिकता दिने उनले स्पष्ट पारे । –न्युज एजेन्सी नेपाल