|  

लाङटाङ खोला आयोजनामा ३९ कर्मचारी अझै बेपत्ता, खोजी कार्य स्थगित

२० भदाै, काठमाडाैं । रसुवामा बाढीपछि सम्पर्कविहीन भएका लाङटाङ खोला जलविद्युत आयोजनाका ३९ कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ।

२० मेगावाट क्षमताको आयोजनाले सम्भव सबै माध्यमबाट खोजी गरे पनि थप व्यक्ति फेला नपरेपछि खोजी कार्य सकिएको जनाएको छ। बाढीका बेला आयोजनामा कार्यरत ४१ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये १९ जनाको उद्धार गरिएको थियो भने बिहीबार सुरुङभित्रबाट थप दुई जनाको शव भेटिएको कम्पनीले जनाएको छ। सुरुङभित्र करिब २५ जना हुन सक्ने प्रारम्भिक अनुमानका आधारमा उद्धार टोलीले मुख्य प्रवेशमार्गबाट खोजी थालेको थियो। तर ढुंगा, माटो र लेदोले सुरुङ अवरुद्ध भएपछि टोली करिब १०० मिटरभन्दा अगाडि बढ्न सकेन। त्यसपछि वैकल्पिक मार्गबाट सुरुङमा प्रवेश गर्ने प्रयास गरिएको थियो। प्राविधिक टोलीले खाली पेनस्टक पाइप हुँदै करिब १५० मिटर माथिसम्म पुगेर म्यानहोल निर्माण गरेको थियो। सोही बाटोबाट समेत सुरुङभित्र प्रवेश गरी खोजी गरिएको कम्पनीले जनाएको छ।

मुख्य सुरुङ, वैकल्पिक प्रवेशमार्ग र उपलब्ध अन्य सबै माध्यमबाट खोजी गर्दा पनि थप व्यक्ति फेला नपरेपछि अभियान समाप्त गरिएको हो। कम्पनीका अनुसार हाल ३९ जनाको अवस्था अझै अज्ञात छ।