|  

भोटेकोशी बाढीको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शङ्कर पोखरेल

२० भदाै, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति जलवायु परिवर्तनमा बढी योगदान गर्ने विकसित राष्ट्रहरूबाट नेपालले पाउनुपर्ने बताएका छन्।

एमाले विशेष सङ्गठन कमिटीले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले औद्योगिक राष्ट्रबाट हुने उच्च कार्बन उत्सर्जनका कारण नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए। उनका अनुसार जलवायु परिवर्तनका कारण नेपालमा बर्सेनि बाढीपहिरोलगायत विपद् बढ्दै गएका छन्, जसबाट ठूलो धनजनको क्षति भइरहेको छ। त्यसैले यस्तो क्षतिको अन्तर्राष्ट्रियस्तरबाट क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्ने उनको भनाइ थियो।

पोखरेलले भोटेकोशी बाढीपछि एमालेका नेता तथा जनसङ्गठनहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहतलाई प्राथमिकता दिँदै काम गरिरहेको पनि बताए।