|  

मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह

२० भदाै, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गरी समाजलाई यसबाट मुक्त बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानवसभ्यताकै कलङ्क र विश्वव्यापी रूपमा फैलिएको संगठित अपराधका रूपमा चित्रण गरेका छन्। यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै बेचबिखनको स्वरूप, प्रवृत्ति र गन्तव्यमा समेत परिवर्तन आएको बताएका छन्।

उनका अनुसार सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार कानुनी तथा संस्थागत सुधार अघि बढाएको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउन संशोधन विधेयक संसदमा दर्ता गरिएको उनले जानकारी दिए। संघीय संरचनाअनुसार मानव बेचबिखनविरुद्धको नीति कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै उनले प्रदेश तथा स्थानीय सरकार, गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्यबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण सम्भव हुने बताए।