|  

रसुवा बाढीः क्षतिग्रस्त सडक र पुल धमाधम पुनर्निर्माण

२१ भदौ, काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।

सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ ।

सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल खुलाउन आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ ।

विभागका अनुसार क्षतिग्रस्त सडकमा नयाँ ट्रयाक खोल्ने र भत्किएका पुलको ठाउँमा बेलिब्रिज राख्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि ठप्प भएको यातायात सुचारु गर्न नेपाली सेनाले बेलिब्रिज जडानको काम थालेको छ । यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि तत्काल बेलिब्रिज जडान गर्न लागेको छ ।