|  

अमेरिका र इरानबीच पानीजहाजमाथि फेरि आक्रमण

२१ भदौ, काठमाडौं । अमेरिका र इरानबीच चर्किएको सैन्य द्वन्द्वका क्रममा शनिबार दुवै पक्षले एकअर्कासँग सम्बन्धित पानीजहाजमाथि आक्रमण गरेका छन्।

अमेरिकी सेनाले इरानसँग सम्बन्धित तीन तेल ट्यांकरमाथि कारबाही गरेको जनाएको छ। दुई ट्यांकरलाई ‘स्थायी रूपमा निष्क्रिय’ र अर्को एकलाई पूर्ण रूपमा ध्वस्त पारिएको अमेरिकाको दाबी छ।

त्यसको जवाफमा इरानले अमेरिकी पक्षसँग सम्बन्धित तीन पानीजहाज तथा होर्मुज जलडमरू हुँदै गइरहेका तीन तेल ट्यांकरलाई निशाना बनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले यस दाबीमा तत्काल प्रतिक्रिया दिएको छैन।

यसअघि इरानले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र विध्वंसकमाथि आक्रमण गरे पनि दुवै युद्धपोत सुरक्षित रहेको अमेरिकाले जनाएको छ।

होर्मुज जलडमरू विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्ग भएकाले पछिल्लो तनावले समुद्री आवागमन र विश्व ऊर्जा बजारमा समेत असर पारेको छ। दुई देशबीचको ६० दिने युद्धविराम समाप्त भइसके पनि नयाँ कूटनीतिक समाधानको स्पष्ट संकेत देखिएको छैन।