|  

सुरुङभित्रको खोज र उद्धारका लागि स्विट्जरल्यान्डले नेपाललाई दियो विशेष ड्रोन, ठोक्किए पनि क्षति नहुने

२१ भदौ, काठमाडौं । स्विट्जरल्यान्डले जलविद्युत् आयोजना तथा जोखिमपूर्ण सुरुङभित्र खोज तथा उद्धारका लागि नेपाललाई विशेष सेमी–अटोनोमस ड्रोन उपलब्ध गराएको छ ।

स्विस कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको ड्रोन शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि उपयोगी मानिन्छ ।

विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारो, साँघुरो र जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्नेगरी यो ड्रोनको डिजाइन गरिएको छ ।

ड्रोनको बाहिरी भागमा विशेष सुरक्षा घेरा (प्रोटेक्टिभ केज) जडान गरिएको छ । जसले गर्दा सुरुङका भित्ता वा चट्टानमा ठोक्किँदा समेत यसलाई क्षति नपुग्ने र पुनः उडान भर्न सक्ने बताइएको छ ।