|  

कांग्रेसको वडा अधिवेशन एक साता पछि सर्ने तयारी, महाधिवेशनको मिति भने यथावत्

२१ भदाै, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तय गरिएको वडा अधिवेशनको मिति करिब एक साता पछि सार्ने तयारी गरेको छ।

यसबारे आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने भएको छ। सभापति गगन थापाले आइतबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकमा तल्लो तहका अधिवेशनको संशोधित कार्यतालिकाबारे निर्णय हुने बताइएको छ। कांग्रेसले आगामी १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ। सोही कार्यतालिकाअनुसार आगामी बुधबार वडा अधिवेशन गर्ने तयारी थियो। तर विभिन्न कारण देखाउँदै वडा अधिवेशन एक साता पछि सार्ने तयारी गरिएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए। उनका अनुसार बाढी तथा सडक अवरोध, पार्टीभित्रको आन्तरिक छलफल र तीज पर्व लगायतका कारण अधिवेशनको प्रारम्भिक कार्यतालिका परिवर्तन गर्न लागिएको हो। गत १० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि कांग्रेसले उद्धार तथा राहतका काममा पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको थियो। त्यसयता परेको वर्षाका कारण विभिन्न स्थानका सडक तथा यातायात मार्ग प्रभावित भएकाले पनि वडा अधिवेशन सञ्चालनमा कठिनाइ हुने देखिएको नेताहरूको भनाइ छ।

यसैबीच पार्टीभित्र महाधिवेशनलाई सहमतिका साथ अघि बढाउने विषयमा आन्तरिक छलफलसमेत जारी छ। संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संवाद गरिरहेको कांग्रेस नेताहरूले बताएका छन्। वडा अधिवेशनसँगै कांग्रेसले गाउँ/नगर र प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति पनि निर्धारण गरेको थियो। पूर्वनिर्धारित तालिकाअनुसार २७ भदौमा गाउँ/नगर अधिवेशन तथा ३१ भदौमा प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो। तर यसै अवधिमा हरितालिका तीज पर्वसमेत परेकाले अधिवेशन प्रक्रियामा त्यसको प्रभाव पर्ने कांग्रेसको बुझाइ छ। यस वर्ष तीज २९ भदौमा परेको छ। विशेषगरी महिलाहरूको सहभागिता र पर्वको संवेदनशीलतालाई ध्यानमा राखेर वडा अधिवेशन सार्ने तयारी गरिएको नेताहरूले बताएका छन्।

कांग्रेसभित्र महाधिवेशनको मिति लिएर मतभेदसमेत देखिएको छ। पार्टीको एक पक्षले महाधिवेशन मंसिरमा गर्नुपर्ने धारणा राख्दै आएको छ भने अदालतमा पुनरावलोकनको मुद्दासमेत विचाराधीन छ।यद्यपि संस्थापन पक्ष भने १६ देखि १९ असोजमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढेको छ।संस्थापन पक्षका एक शीर्ष नेताका अनुसार हाल तय भएको मिति परिवर्तन गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि विशेष राजनीतिक सहमति आवश्यक हुनेछ। उनका अनुसार पुनरावलोकनका लागि दायर गरिएका दुवै रिट फिर्ता लिएर सहमतिको वातावरण बनेमा भने केन्द्रीय महाधिवेशनको मिति केही पर सार्ने सम्भावना रहन सक्छ। यसअघि नै तय भएको केन्द्रीय महाधिवेशनको मिति कायम राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने एक सातासम्म पछाडि सार्ने गरी कांग्रेस नेतृत्वले तयारी अघि बढाएको छ।