|  

सुख्खा पहिरोले अवरुद्ध भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खुल्यो

२१ भदाै, काठमाडाैं । सुख्खा पहिरोका कारण अवरुद्ध भएको भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित छिप्रेदहमा आइतबार बिहान करिब साढे ८ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो खसेसँगै सडकमा यातायात आवागमन ठप्प हुँदा डोल्पा आउने र जिल्ला बाहिर जाने सवारीसाधनहरू छिप्रेदहमै रोकिएका थिए। प्रहरीका अनुसार पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन गरिएको हो। डोल्पाका डीएसपी अनिलराज गिरीले सडक खुलाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको जानकारी दिए।

सडक सञ्चालनमा आए पनि उक्त क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। विशेषगरी वर्षा तथा सडक माथिबाट ढुंगा-माटो खस्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो।