|  

साउदीमाथि सहज जित, नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

२१ भदाै, काठमाडाैं । नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

आइतबारको जितसँगै नेपालले समूह चरणमा लगातार तेस्रो सफलता हात पारेको हो। साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो। गुल्शन झा ४४ र रोहित पौडेल २४ रनमा अविजित रहे। इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा समेटिएको थियो। उसका लागि अब्दुल वाहीदले ७७ रन बनाए भने मोहम्मद आतिफले ३० रन जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ र शेर मल्लले १ विकेट हात पारे।

नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो। अब मंगलबार हङकङसँग हुने अन्तिम समूह खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।