|  

‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी

२१ भदाै, काठमाडाैं । नेपाली कांँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशीबाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले विपद् व्यवस्थापनमा सरकारको कार्यशैली र समन्वयको अभावप्रति टिप्पणी गर्नुभएको हो । नेता केसीले नुवाकोट, रसुवा र धादिङ लगायतका क्षेत्रमा भएको विनाशलाई ‘हिमाली सुनामी’को संज्ञा दिनुभयो । विपद्का समयमा पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसकेकोमा गुनासो गर्दै नेता केसीले सरकारमा ‘नार्सिसिस्ट साइकोलोजी’ (अहंकारी प्रवृत्ति) हाबी भएको आरोप लगाउनु भयो । नेपालका २ हजार ३ सय तालतलैयामध्ये २१ वटा हिमताल अत्यन्त जोखिमपूर्ण रहेको र तीमध्ये ४–५ वटा विष्फोटको उच्च खतरामा रहेको बताउनु भयो । यसबारे आफूले डेढ महिनाअघि नै संसद्मा ध्यानाकर्षण गराएको स्मरण गराउनु भयो । राज्यले यस्ता जोखिमहरूको वैज्ञानिक आकलन गरी पूर्वतयारी गर्न नसकेको उहाँको भनाइ छ । नेता केसीले विपद् व्यवस्थापनका लागि ‘रेस्क्यु’ (उद्धार), ‘रिलिफ’ (राहत) र ‘रिह्याबिलिटेसन’ (पुनस्र्थापना) गरी तीनवटा पक्षमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । विशेषगरी रसुवा र नुवाकोटका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह, समुदाय र सरकारबीच एकीकृत समन्वयको खाँचो औँल्याउनु भयो । उहाँले आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ (पीडितकेन्द्रित) पुनर्निर्माणको मोडल अपनाउन पार्टी र सरकारलाई सुझाव दिनुभयो । नेता केसीले भन्नुभयो, ‘हामी आफैँ सक्षम छौँ, विदेशी सहयोग चाहिँदैन भन्ने हिसावले सरकार प्रश्तुत भयो । विदेशी प्राविधिकहरू सहयोगका लागि तयार हुँदाहुँदै पनि सरकारले अस्वीकार गर्नु र संसद्मा प्रधानमन्त्रीले फरक धारणा राख्नुले उद्धार कार्यमा कमजोरी देखिएको छ । अब आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ पुनर्निर्माणको मोडल अपनाउनुपर्छ ।’

विपद्को घडीमा राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले सरकारले अविलम्ब सर्वदलीय बैठक बोलाउनुपर्ने बताउनु भयो । साथै, संसद्को तर्फबाट अनुगमन, सुपरिवेक्षण र समन्वय गर्न एक ‘उच्चस्तरीय संसदीय समिति’ गठनको माग समेत गर्नुभयो ।