|  

नेपालको उद्धार अभियानबारे आर्नोल्ड डिक्स : ‘यस्तो अवस्था पहिले कहिल्यै भोगेको थिइनँ’

२२ भदाै, काठमाडाैं । भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा १७ दिनसम्म फसेका ४१ मजदुरलाई सकुशल बाहिर निकाल्ने उद्धार अभियानको नेतृत्व गरेर अन्तर्राष्ट्रिय चर्चा कमाएका प्राध्यापक आर्नोल्ड डिक्स अहिले नेपालको बाढीग्रस्त सुरुङमा छन्। तर, उनको अनुभवमा नेपालको उद्धार अभियान विगतका सबै चुनौतीभन्दा फरक र कठिन बनेको छ।

नेपालमा जारी खोज तथा उद्धार अभियानमा स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै भनेका छन्- ‘यस्तो कहिल्यै भोगेको थिइनँ।’

डिक्सका अनुसार नेपालको अवस्था एउटा सुरुङभित्र सीमित उद्धार अभियानजस्तो छैन। एकैपटक विभिन्न स्थानमा सम्भावित उद्धारका काम अघि बढिरहेका छन्। प्रत्येक स्थानमा जोखिम, अनिश्चितता र अझै जोगाउन सकिने जीवनको सम्भावना उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ।

सिल्क्याराभन्दा फरक चुनौती
सन् २०२३ मा भारतको सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको उद्धारलाई स्मरण गर्दै डिक्सले त्यसबेला आफूहरूसामु एउटा स्पष्ट लक्ष्य रहेको बताएका छन्- जमिनमुनि रहेका ४१ जनालाई जीवितै घर फर्काउनु। त्यो कठिन परीक्षा सफलतापूर्वक पार गरे पनि त्यसले अर्को र अझ ठूलो जिम्मेवारीको बाटो खोलिदिएको उनको अनुभव छ। नेपालमा भने एउटै उद्धारस्थल छैन। बाढी, हिलो र जलमग्न संरचनाबीच फरक–फरक स्थानमा सम्भावित जीवनको खोजी भइरहेको छ। त्यसैले हरेक निर्णयसँग नयाँ जोखिम र अनिश्चितता जोडिएको डिक्सले बताएका छन्।

‘कर्तव्य’देखि ‘धर्म’सम्म
डिक्सले अहिलेको अवस्थालाई केवल प्राविधिक चुनौतीका रूपमा मात्र हेरेका छैनन्। उनले यसलाई मानवीय कर्तव्य र जिम्मेवारीको परीक्षासँग जोडेका छन्। पाश्चात्य परम्परामा यसलाई ‘कर्तव्य’का रूपमा बुझिने उल्लेख गर्दै उनले पूर्वीय दर्शनको ‘धर्म’को अवधारणासँग पनि यसको सम्बन्ध देखाएका छन्। उनका अनुसार सफलता निश्चित नहुँदा पनि सही काम गरिरहनु नै वास्तविक परीक्षा हो। परिणाम आफ्नो पक्षमा आउँछ कि आउँदैन भन्नेभन्दा कठिन परिस्थितिमा पनि उद्धार प्रयास नछोड्नु महत्वपूर्ण रहेको उनको सन्देश छ।

‘आशालाई अनुशासनमा बदल्नुपर्छ’
सिल्क्याराको अनुभवले आफूलाई ‘न्यून सम्भावना’ र ‘असम्भव’बीचको फरक सिकाएको डिक्सको भनाइ छ। तर नेपालको विपद्ले त्योभन्दा पनि गहिरो पाठ सिकाइरहेको उनले बताएका छन्।एकैपटक धेरै मानिसको जीवन उद्धारकर्तामाथि निर्भर हुँदा आशालाई व्यवस्थित प्रयासमा र करुणालाई व्यवहारिक उद्धारमा बदल्नुपर्ने उनको निष्कर्ष छ।

अस्ट्रेलियाबाटै थालेका थिए प्राविधिक सहयोग
रसुवामा बाढी आएपछि डिक्सले प्रारम्भिक चरणमै अस्ट्रेलियाबाट नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिएका थिए। त्यसपछि नेपाल आएर उनी प्रत्यक्ष रूपमा उद्धार अभियानमा सहभागी भएका छन्। उनकै सुझाव र समन्वयपछि बाढी आएको करिब १० दिनपछि त्रिशूली–३ ‘ए’ को जलमग्न सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको बताइएको छ। हाल डिक्स चिलिमे जलविद्युत् आयोजनासहित बाढी प्रभावित विभिन्न सुरुङ तथा संरचनाको स्थलगत निरीक्षण र खोजी कार्यमा संलग्न छन्। बाढी र हिलोले पूर्ण रूपमा पुरिएका संरचनाभित्र पनि मानिस बाँच्न सक्ने हावाका सुरक्षित ठाउँ अर्थात् ‘एयर पकेट’ हुनसक्ने सम्भावनालाई आधार बनाएर खोजी अभियान अघि बढाइएको छ।

‘त्याग्न अस्वीकार गरेका जीवनले पनि मूल्यांकन गर्छ’
उद्धार अभियानलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै डिक्सले आफ्नो सन्देशमा एउटा गहिरो कुरा उल्लेख गरेका छन्- उद्धारकर्ताको सफलता केवल कति जनालाई बचाइयो भन्नेबाट मात्र मापन हुँदैन। उद्धारको सम्भावना रहँदासम्म कुन जीवनलाई हार मानेर छाडिएन भन्ने कुराले पनि त्यसको मूल्य निर्धारण गर्छ। नेपालको कठिन परिस्थितिमा यही विश्वासका साथ आफूहरू उद्धार अभियानमा निरन्तर लागिरहेको डिक्सको सन्देश छ।