|  

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर-काठमाडौं हवाई उडानमा चाप

२२ भदाै, काठमाडाैं । पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप ह्वात्तै बढेको छ।

यात्रुको बढ्दो मागलाई धान्न भरतपुर विमानस्थलबाट हुने काठमाडौं उडानको संख्या दोब्बरभन्दा बढी पुर्‍याइएको छ। सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँचवटा उडान हुँदै आए पनि सडकमार्ग असहज बनेपछि उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको बुद्ध एयरले जनाएको छ। बुद्ध एयरको भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार यात्रुको चापलाई मध्यनजर गर्दै उडान थपिएको हो। उनका अनुसार सडकमार्गमा सहज आवागमन हुन नसक्दा अहिले धेरै यात्रुले समय बचतका लागि हवाई यात्रा रोजिरहेका छन्।

भरतपुर–काठमाडौं रुटमा ‘एटिआर–७२’ जहाज सञ्चालन हुँदै आएको छ। जहाजको कुल क्षमता ७२ यात्रु भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले पूर्ण क्षमतामा यात्रु बोक्न नसकिने एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट भरतपुर आउँदा जहाजले करिब ६५ देखि ७० यात्रु बोक्ने गरे पनि भरतपुरबाट काठमाडौं जाँदा करिब ५० यात्रु मात्रै बोक्ने गरेको बताइएको छ।

कृष्णभिरलगायत क्षेत्रमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्था छ। तर वर्षायाममा वैकल्पिक सडकको अवस्था पनि सहज नभएकाले यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भएका छन्। भरतपुर विमानस्थल चितवनका यात्रुमा मात्र सीमित छैन। नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरलगायत जिल्लाबाट समेत काठमाडौं जाने यात्रु भरतपुर विमानस्थल पुग्ने गरेका छन्। सडकमार्गको असहज अवस्थाका कारण यात्रुको चाप बढ्दै गएपछि सेवा सहज बनाउन उडान संख्या थप गरिएको बुद्ध एयरले जनाएको छ।