|  

कोशीमा एमाले-नेकपाको न्यूनतम साझा कार्यक्रम तयार, आज मुख्यमन्त्रीलाई बुझाइँदै

२२ भदाै, काठमाडाैं । कोशी प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच बनेको कार्यदलले न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको छ।

कार्यदलले सोमबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।गत साउन २५ गते एमाले र नेकपाबीच भएको सहमतिअनुसार सरकारका प्राथमिकता र आगामी कार्यदिशा तय गर्न नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलमा एमालेका तर्फबाट संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक, सांसद रेवतीरमण भण्डारी र प्रदेश कमिटी सचिव राजकुमार भण्डारी सहभागी थिए। नेकपाबाट संयोजक आङ्बोसहित संसदीय दलका उपनेता बाबुराम गौतम र सांसद गणेश उप्रेती सदस्य थिए।

कार्यदल संयोजक आङ्बोका अनुसार प्रतिवेदन बुझाउनुअघि अन्तिम बैठक बस्नेछ। त्यसपछि साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मुख्यमन्त्रीलाई हस्तान्तरण गरिनेछ। उनका अनुसार साझा कार्यक्रममा केही नयाँ विषयसमेत थपिएका छन्, जसलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक गरिनेछ।कार्यदलका सदस्य रेवतीरमण भण्डारीका अनुसार साझा कार्यक्रममा प्रदेशको संरचना निर्माणसँग सम्बन्धित नयाँ विषय समेटिएको छ। अन्य विषयमा भने यसअघि सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटलाई एकीकृत तथा व्यवस्थित गर्दै प्राथमिकता निर्धारण गरिएको छ।

सरकारको बाँकी कार्यकाल छोटो रहेकाले नयाँ कार्यक्रमको ठूलो सूची थप्नुभन्दा कृषि, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटमा समेटिएका कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नेमा जोड दिइएको भण्डारीले बताए। उनका अनुसार कुन काम तत्काल अघि बढाउने र बजेटमा रहेका कार्यक्रमलाई कसरी ठोस परिणाममा रूपान्तरण गर्ने भन्ने विषय नै साझा कार्यक्रमको मुख्य केन्द्रमा छ। एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिपछि कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भइसकेको छ।

सहमतिअनुसार नेकपाबाट जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ। एमालेबाट भने यसअघिकै मन्त्रीहरूले निरन्तरता पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयमा विदुरकुमार लिङ्थेप, स्वास्थ्यमा इन्द्रमणि पराजुली, कृषिमा रामदेव मेहता र खानेपानी तथा सिँचाइ मन्त्रालयमा तिलचन पाठक छन्। स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले पनि निरन्तरता पाएका छन्।

साझा नीति तथा कार्यक्रम सार्वजनिक भएपछि कोशी प्रदेश सरकारको बाँकी कार्यकालमा एमाले–नेकपा गठबन्धनले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने भन्ने थप स्पष्ट हुनेछ।