|  

रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबिओबीच टेलिफोन संवाद

२२ भदाै, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबिओबीच सोमबार टेलिफोन संवाद भएको छ।

लामिछानेको सचिवालयका अनुसार कुराकानीमा नेपालको पछिल्लो विपद्, उद्धार तथा राहतका विषयमा छलफल भएको हो। टेलिफोन संवादका क्रममा रुबिओले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपद्को यो कठिन घडीमा अमेरिकी सरकार र अमेरिकी जनता नेपाली जनताको साथमा रहेको बताएका थिए। जवाफमा लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले सम्भव भएसम्म सबै संयन्त्र परिचालन गरिरहेको जानकारी गराएका थिए।

कुराकानीका क्रममा लामिछानेले नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षाका लागि नेपाल प्रतिबद्ध रहेको बताएका थिए। विपद्का कारण उत्पन्न परिस्थितिबीच पनि नेपालमा आउने विदेशी नागरिकको सुरक्षा र सहजीकरणलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो। लामिछानेले कठिन परिस्थितिमा नेपाललाई सहयोग र सद्भाव व्यक्त गरेकोमा रुबिओप्रति धन्यवाद दिएका थिए।

रुबिओले नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका थप तयार रहेको बताएका छन्। भोटेकोशी बाढीबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै उनले आवश्यक सहयोगमा अमेरिकाको साथ रहने प्रतिबद्धता जनाएका हुन्। दुई नेताबीचको संवादलाई पछिल्लो प्राकृतिक विपद्का बेला नेपाल र अमेरिकाबीचको सहयोग तथा समन्वयका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।