२२ भदाै, काठमाडौं । नेपाली कांग्रेसमा १५ औँ महाधिवेशनअघि देखिएको आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयास तीव्र भएको छ।
सभापति गगन थापाले संस्थापनइतर पक्षका प्रमुख नेताहरूसँग संवाद अघि बढाउँदै उनीहरूले उठाउँदै आएका माग सम्बोधन गर्ने तयारी थालेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सभापति थापाको संवाद अघि बढे पनि निवर्तमान सभापति शेरबहादुर देउवासँग भने अहिलेसम्म प्रत्यक्ष छलफल हुन सकेको छैन। पार्टीभित्रको विवाद समाधान गरेर १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने उद्देश्यले भएका छलफलपछि केन्द्रीय कार्यसम्पादन समितिबाट आवश्यक निर्णय गर्ने तयारीमा संस्थापन पक्ष रहेको नेताहरूले बताएका छन्।
संस्थापनइतर पक्षले उठाउँदै आएको प्रमुख मागमध्ये क्रियाशील सदस्यताको विषयमा कांग्रेसले लचकता अपनाउने संकेत दिएको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार गत पुस १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यले विवरण अद्यावधिक नगरेको भए पनि १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिनेछ। अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका वा निधन भएका व्यक्तिबाहेक नवीकरण गरेका सदस्यलाई महाधिवेशनमा सहभागी गराउने तयारी रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन्। कांग्रेसमा करिब ६ लाख सदस्यले क्रियाशील सदस्यता नवीकरण गरेका छन् भने करिब २ लाखले नयाँ सदस्यता लिएका छन्। पार्टीका नेताहरूका अनुसार करिब ८० प्रतिशत क्रियाशील सदस्यले आवश्यक विवरणसमेत अद्यावधिक गरिसकेका छन्।
नेता शेखर कोइरालाले १५औँ महाधिवेशन निष्पक्ष बनाउन छुट्टै संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव राख्दै आएका थिए। संस्थापन पक्षले उक्त प्रस्तावमा पनि सकारात्मक संकेत दिएको छ। महामन्त्री पौडेलका अनुसार आवश्यकता देखिए सभापतिको अधिकारअनुसार यस्तो संयन्त्र गठन गर्न सकिनेछ। त्यसमा पार्टीका विभिन्न पक्षका नेताहरूलाई सहभागी गराउने र महाधिवेशन तयारीलाई सहजीकरण गर्ने प्रस्ताव छ। क्रियाशील सदस्यता छानबिन समिति, केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र विधान संशोधन समितिलगायतमा पनि सबै पक्षको प्रतिनिधित्व गराएर महाधिवेशन निष्पक्ष हुने वातावरण बनाउने तयारी भइरहेको छ।
संस्थापनइतर पक्षले विशेष महाधिवेशनका क्रममा केन्द्रीय कार्यसमितिबाट छुटेका तर १४औँ महाधिवेशनबाट निर्वाचित १११ जनालाई पुनः केन्द्रीय सदस्य बनाउनुपर्ने माग पनि अघि सारेको थियो।तर यो विषय पार्टी विधानअनुसार सहज रूपमा सम्बोधन गर्न नसकिने धारणा सभापति थापाले राख्दै आएका छन्।
सभापति थापा र नेता शेखर कोइरालाबीच आइतबार भएको भेटमा पार्टी एकताको विषयमा छलफल भएको थियो। कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। पार्टी एकताका लागि आवश्यक त्याग गर्न आफू तयार रहेको सन्देशसमेत उनले दिएको उनको सचिवालयले जनाएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि संस्थापन पक्षले निरन्तर संवाद गरिरहेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पनि पार्टी एकता र महाधिवेशन व्यवस्थापनका लागि पाँचबुँदे प्रस्ताव अघि सारेका छन्। उनले विशेष महाधिवेशनको निर्णयको सीमाभित्र रहेर पुरानो र वर्तमान कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्नुपर्ने प्रस्ताव गरेका छन्।
त्यस्तै, आवश्यकताअनुसार केन्द्रीय कार्यसमितिको संख्या बढाउने, निष्पक्ष महाधिवेशनका लागि आवश्यक समितिलाई पुनर्गठन गर्ने तथा महाधिवेशनको मिति एकपटक तय भएपछि कुनै बहानामा सार्न नहुने प्रस्ताव पनि उनले राखेका छन्। केसीले केन्द्रीय महाधिवेशनको मिति कात्तिक १७ देखि १९ गतेसम्म तोक्न प्रस्ताव गरे पनि सभापति थापाले महाधिवेशन नसर्ने स्पष्ट पारेका छन्।
कांग्रेसले वडा तहका अधिवेशन भने केही दिन पछाडि सार्ने तयारी गरेको छ। रसुवा, नुवाकोट र धादिङमा विपद्का कारण तत्काल वडा अधिवेशन गर्न कठिन भएकाले निर्धारित भदौ २४ गतेको मिति केही पर सार्ने तयारी गरिएको हो। तर सभापति थापाले केन्द्रीय महाधिवेशन भने निर्धारित असोज १६ गते काठमाडौंमा उद्घाटन हुने बताएका छन्।
सभापति थापा नेतृत्वको संस्थापन पक्षले खड्का र कोइरालासँग संवाद बढाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग भने सहमति जुट्न सकेको छैन। देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी अघि बढाइसकेको छ। उसले चुनदेवीमा सम्पर्क कार्यालयसमेत सञ्चालन गरेर समानान्तर गतिविधि गरिरहेको छ। देउवा पक्षका नेताहरूले राष्ट्रिय भेला गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन्। यसबीच खड्का र शेखर कोइराला पार्टी एकताका लागि सकारात्मक देखिएपछि कांग्रेसभित्रको विवाद समाधानतर्फ नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ। अब कार्यसम्पादन समितिबाट हुने निर्णयले पार्टीभित्रको एकता प्रयास र १५औँ महाधिवेशनको आगामी बाटो कति सहज हुन्छ भन्ने निर्धारण गर्नेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar