२२ भदाै, काठमाडाैं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो-कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए- हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल एउटै चिन्ता- ‘आज साँझ घरको चुल्हो बल्छ कि बल्दैन ?’
बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार अगाडि आन्तरिक राजश्व कार्यालय र बैंकका एटीएम बुथहरू रहेको साँघुरो सडक सोमवार मानिस र ग्यास सिलिन्डरको विशाल संगम बनेको थियो । लामवद्ध उभिएका मानिसहरूको हातमा नेपाल ग्यास, एसटीलगायत कम्पनीका रित्तो रातो सिलिण्डरहरू थिए । घाम चर्किंदै जाँदा उभिन नसकेर थकित नागरिकहरू आफ्नै रित्तो सिलिण्डरमाथि नै बसेर पालो कुरिरहेका देखिन्थे । कतिपयले नीलो, कालो र बुट्टेदार छाता ओढेर चर्को घामको राप छल्ने निष्फल प्रयास गरिरहेका थिए भने कतिपय रूखको थोरै छहारी वा पर्खालको ओझेलमा पसिना पुछ्दै पर्खिरहेका थिए । लाइनमा उभिएका एक युवाले गहभरि आँशु पार्दै भने, ‘बिहानै आएर बसेको हुँ । अफिसमा बिदा लिएँ, तलब काटिन्छ । तर घरमा तीन दिनदेखि ग्यास सकिएर चाउचाउ र बिस्कुटको भरमा छौँ । यस्तो चर्को घाममा भोकै–तिर्खै लाइन बस्नुबाहेक हामी गरिब जनतासँग अर्को के विकल्प छ र ?’
तातो सडकमा घण्टौँ कुर्नु नागरिकको रहर होइन, भोकले सुकेको चुल्हो बाल्ने एकमात्र विवशता हो ।
ग्यास वितरण केन्द्रमा भीड यति अनियन्त्रित थियो कि सुरक्षाकर्मीहरू लाम मिलाउन र गेट बन्द गरेर व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो । मानिसहरू टोकन र रसिद देखाउन गेटमा झुम्मिएका थिए । जहाँ सयौँ एलपी ग्यासका सिलिण्डरहरू चर्को घाममा एकै ठाउँमा थुप्रिएका थिए । कम्पनीका प्रतिनिधिहरू कापी र कलम लिएर नाम दर्ता गर्दै टोकन बाँड्दै थिए । तर ग्यास बोकेको ट्रकको क्षमता सिमित थियो र पालो पर्खनेहरूको लाम अनन्त जस्तै देखिन्थ्यो । ‘ट्रकको ग्यास सकिएला कि’ भन्ने डरले नागरिकहरूको अनुहारमा बेचैनी प्रष्ट झल्कन्थ्यो । घण्टौँको मानसिक र शारीरिक सास्तीपछि जब कसैको हातमा भरिएको नयाँ सिलिन्डर पर्दथ्यो, त्यो दृश्य हेर्नलायक हुन्थ्यो । त्यो केवल १४.२ किलो ग्यास र १५ किलो फलामको सिलिण्डर मात्र थिएन, त्यो त आफ्ना भोका सन्तानलाई तातो भात खुवाउन पाउने खुशी थियो ।
संघीय राजधानीकै सडकमा एक सिलिण्डर ग्यासका लागि नागरिकले दिनभर पसिना बगाउनुपर्ने यो दृश्यले राज्य सञ्चालकहरूको संवेदनहीनतालाई नङ्ग्याइदिएको छ । बालाजुको सडकमा देखिएको यो कारुणिक दृश्य कुनै नौलो भने होइन । जब–जब आपूर्ति प्रणालीमा गडबडी हुन्छ वा कालोबजारी मौलाउँछ, त्यसको प्रत्यक्ष मारमा यस्तै निर्दोष, श्रमजीवी र आम नागरिक पर्ने गर्छन् । नागरिकले कर तिरेका छन्, सिलिन्डरको पूरा मूल्य तिरेका छन् । तर बदलामा उनीहरूले पाइरहेका छन्, चर्को घामको राप, सुरक्षाकर्मीको लाठीको त्रास, र सडकमा अपमानित भएर घण्टौँ बस्नुपर्ने विवशता । सम्बन्धित निकाय र नेपाल आयल निगमले तुरुन्तै ग्यास आपूर्तिलाई पारदर्शी र टोल–टोलमा सहज बनाउनुपर्छ । नागरिकको चुल्हो बल्नबाट रोक्ने यो चरम लापरवाहीको जवाफदेहिता कसले लिने ? –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar