|  

जग्गा प्लट मिलानका लागि ५० हजार घुस मागेको आरोपमा दुई नापी कर्मचारीविरुद्ध मुद्दा

२२ भदौ, काठमाडौं । सेवाग्राहीको जग्गा हालसाबिक तथा प्लट मिलान गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत हिरालाल पार्धे र तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चन्द्रागिरी नगरपालिका-९ मा रहेको जग्गाको हालसाबिक र प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै दुवै कर्मचारीले सेवाग्राहीसँग घुस रकमबारे बार्गेनिङ गरेका थिए । भूमि प्रशासन कार्यालय कलंकीमा दर्ता रहेको साविक मच्छेगाउँ-९ग (हाल चन्द्रागिरी-९ग) को जग्गासम्बन्धी काममा उनीहरूले नियमअनुसार गर्नुपर्ने प्रक्रिया अघि नबढाई सेवाग्राहीलाई दुःख-हैरानी दिएको र त्यसपछि ५० हजार रुपैयाँ मागेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार पार्धे र श्रेष्ठले घुस रकम आफूहरूले प्रत्यक्ष नलिई कार्यालय सहयोगीमार्फत बुझ्ने सहमति गरेका थिए। आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुर भएको ठहर गरेको छ। सोही आधारमा अख्तियारले दुवै जनाविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।