|  

भोटेकोशी बाढीप्रति माल्दिभ्सको दुःख व्यक्त, नेपालसँग जलवायु सहकार्यमा जोड

२२ भदाै, काठमाडौं । भोटेकोशी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति माल्दिभ्सले नेपालप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेको छ।

यस विषयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा विदेशमन्त्री एडमले माल्दिभ्स सरकार तथा त्यहाँका जनताको तर्फबाट बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति समवेदना तथा समर्थन व्यक्त गरेका थिए। माल्दिभ्सको समर्थनप्रति परराष्ट्रमन्त्री खनालले आभार व्यक्त गरेका छन्। उनले विपद्का बेला नेपालप्रति ऐक्यबद्धता र समर्थन जनाएकामा माल्दिभ्स सरकार तथा जनताप्रति धन्यवाद दिएका थिए। टेलिफोन संवादका क्रममा दुवै मन्त्रीले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूले भोगिरहेका साझा चुनौतीबारे पनि छलफल गरेका थिए। जलवायु जोखिम न्यूनीकरण तथा प्रभावित मुलुकका साझा मुद्दालाई प्राथमिकतामा राख्दै क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ।

त्यसैगरी, थप प्रभावकारी जलवायु कार्यका लागि आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि दुवै विदेशमन्त्रीले व्यक्त गरेका छन्। खनालको सचिवालयका अनुसार वार्तामा नेपाल र माल्दिभ्सबीच जलवायुजन्य जोखिमका विषयमा सहकार्य बढाउने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।