|  

बाढीले बगाएर ठिक्क भयो भन्ने युवक पक्राउ, कमेन्टमा गाली गर्नेलाई खोज्दै छ प्रहरी

२२ भदाै, काठमाडाैं ।  रसुवा बाढीपछि सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति र पीडितमाथि गालीगलौज गर्ने क्रम बढेपछि प्रहरीले निगरानी तथा कारबाही थालेको छ ।

बाढीमा विभिन्न समुदायका मानिसको मृत्यु भएकोमा खुसी व्यक्त गर्दै फेसबुकमा भिडियो पोस्ट गर्ने बैतडीका २४ वर्षीय बिरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरिसकेको छ।रसुवा बाढीले देशलाई शोकमा पारेको समयमा एउटा भिडियो सार्वजनिक भयो जहाँ मडैले बाढी आएर राम्रो गर्‍यो भन्दै फेसबुकमा भिडियो हाले।

उक्त भिडियोमा भनिएको थियो– ‘भोटेकोशी बाढी आएर राम्रो गर्‍यो। यो राई, लिम्बु, तामाङ, मगर, गुरुङ, शेर्मा मरे राम्रो भयो ।’ यसैबीच, बाढीमा श्रीमान् बेपत्ता भएपछि सरकारप्रति आक्रोश व्यक्त गरेकी एक महिलालाई सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पीडितको आक्रोश स्वाभाविक भएको भन्दै उनीमाथि अनावश्यक टिप्पणी गर्नेहरूविरुद्ध कारबाही गर्ने बताएका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार महिलालाई गाली गर्ने दुई जनाको पहिचान भइसकेको छ। उनीहरू रुपन्देही र तनहुँका रहेको र थप अनुसन्धानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको ब्यूरोले जनाएको छ।

बाढीपछि फैलन सक्ने गलत सूचनाको निगरानी गर्न साइबर ब्यूरोले छुट्टै टोलीसमेत परिचालन गरेको छ ।यद्यपि नेपाल प्रहरीको साइबर ब्यूरोले बाढी आएको भदौ १० गते नै १० जनाको छुट्टै टिम बनाएर बाढीमा फैलन सक्ने गलत सूचनाकाबारेमा अध्ययन गरिरहेको छ।