|  

ट्रम्पले एक घण्टामा इरानविरुद्ध गरे ७ आक्रामक पोस्ट,नक्सामा राखे आफ्नो तस्बिर

२२ भदाै, काठमाडाैं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै एक घण्टाभित्र सामाजिक सञ्जालमा सातवटा आक्रामक पोस्ट गरेका छन् ।

ट्रम्पले इरानको कमजोर अर्थतन्त्र, घट्दो तेल निर्यात, बढ्दो मुद्रास्फीति र कमजोर बन्दै गएको राष्ट्रिय मुद्रा रियाललाई निशाना बनाउँदै दबाब बढाएका हुन् । उनले इरानको तेल निर्यात र होर्मुज जलमार्गसँग सम्बन्धित विभिन्न ग्राफिक्ससमेत सार्वजनिक गरेका छन् ।

ट्रम्पले इरानको भौगोलिक नक्साको सीमारेखालाई परिमार्जन गरी आफ्नै मुहारको आकार दिइएको एउटा ग्राफिक्स सेयर गरेका छन् ।

सबैभन्दा आक्रामक पोस्टमा ट्रम्पले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिकी युद्धविमानले बमबारी गरिरहेको एआई–निर्मित दृश्य सार्वजनिक गर्दै ‘बाइ–बाइ खार्ग’ लेखेका छन्।

अन्तिम पोस्टमा उनले इरान असफल राष्ट्र बन्दै गएको र त्यहाँको सरकार परिस्थिति सम्हाल्न असफल भएको दाबी गरेका छन् । होर्मुज जलमार्गमा इरानले नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरेलगत्तै ट्रम्पका यी पोस्ट सार्वजनिक हुनुले अमेरिका–इरान तनाव थप बढेको संकेत गरेको छ।