|  

टनेलभित्र फसेका नागरिकको उद्धारमा विश्वका डेढ सय विज्ञ सक्रिय

२३ भदौ, काठमाडौं ।  जलविद्युत् आयोजनाका सुरुङ र पावर हाउसमा फसेकाहरू उद्धार गर्न डेढ सय विदेशी विशेषज्ञ सक्रिय छन् ।

भोटेकोशीको विनासकारी बाढीले १२ जलविद्युत् आयोजना पुरेको थियो ।भोटेकोसी बाढीको १३औं दिनसम्म १३ सय ५५ जनाको शव भेटिएको छ । करिब ५ हजार जना अझै सम्पर्कविहीन छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार, जलविद्युत् आयोजनाका काममा संलग्न ९ सय ३३ जना सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनाका पावर हाउस र सुरुङमा ठूलो मात्रामा लेदो, ढुंगा र गेग्य्रान थुप्रिएको छ ।

सुरुङका प्रवेशद्वार पुरिएका छन् । भूमिगत संरचनाको नक्सा र वास्तविक अवस्था मेल नखानेसम्मका चुनौती छन् । सामान्य खोज तथा उद्धार टोली मात्र पर्याप्त नहुने भएपछि अनुभवी विदेशी विशेषज्ञ सहयोग गर्न आएका छन् ।

करिब डेढ सयको हाराहारीमा विदेशी विशेषज्ञ तथा फरेन्सिक विज्ञ काम गरिरहेका छन् । सुरुङ र पावर हाउसमा मानिस जीवित हुन सक्ने सम्भावित स्थान पहिचान, पुरिएका संरचनामा सुरक्षित प्रवेश र भेटिएका शव तथा मानव अवशेषको वैज्ञानिक तरिकाले पहिचान गर्दैैछन् ।