|  

६३३ खोप केन्द्रबाट दुई चरणमा अभियान सञ्चालन हुने

२३ भदाै, काठमाडाैं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रूपन्देहीमा १२ हजार ९० जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस वर्ष कक्षा ६ मा अध्ययनरत ११ हजार ७०९ किशोरी तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ३८१ किशोरीलाई खोप दिइनेछ। स्वास्थ्य कार्यालयले दुई चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा असोज ५ देखि ८ गतेसम्म ११ पालिकामा र दोस्रो चरणमा असोज १२ देखि १५ गतेसम्म बाँकी पाँच पालिकामा खोप लगाइनेछ। अभियानका लागि जिल्लाभर ४८३ विद्यालय र १५० स्वास्थ्य संस्था गरी ६३३ खोप केन्द्र तोकिएका छन्। कुनै पनि लक्षित किशोरी खोपबाट नछुटून् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकासहित स्वास्थ्यकर्मी परिचालन गरिनेछ। स्थानीय तहअनुसार बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै २ हजार २१२ किशोरीले खोप पाउनेछन्। तिलोत्तमामा १ हजार ५६३, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार १२४, देवदहमा ९६३ र सैनामैनामा ९१८ किशोरी लक्षित छन्।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा देखिएको छ। एचपीभी संक्रमण यसको मुख्य कारण भएकाले किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा यसबाट हुने जोखिम घटाउन सकिने स्वास्थ्यकर्मी बताउँछन्।