|  

‘थाकेपछि मात्रै सुत्छौँ, घडी हेरेर होइन’ : गृहमन्त्री गुरुङ

२४ भदाै, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो नेतृत्वमा रहेको सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका छन्।

नागरिकले अनावश्यक दुःख भोग्न नपरोस् भन्ने उद्देश्यसहित सरकार निरन्तर काममा केन्द्रित रहेको उनको भनाइ छ। मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विगतमा नेताहरूले लामो समयसम्म आकर्षक भाषण गरे पनि त्यसको परिणाम नागरिकले भोग्नुपरेको बताए। उनले आफूहरू पुरानै राजनीतिक संस्कार दोहोर्‍याउन नभई त्यसलाई परिवर्तन गर्न सरकारमा आएको जिकिर गरे। ‘कत्रा-कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन्। चिल्ला-चिल्ला भाषण हामीले देखिसकेका छौँ, हाम्रा आमाबुवाले पनि भोगिसक्नुभएको छ,’ उनले भने, ‘त्यसको रिजल्ट हामीले भोग्नुपरेको थियो। अहिले नागरिकले काम गर्ने नेताहरू चुन्नुभएको छ।’

गुरुङले सरकारका लागि कार्यालय समय वा घडीको सीमाभन्दा नागरिकको समस्या समाधान गर्नु महत्वपूर्ण रहेको बताए। ‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन। आज कति जना नागरिकलाई दुःख हुन नदिनका लागि काम गर्‍यौँ, हामी त्यसैलाई हेर्छौँ,’ उनले भने। नागरिकको हितका लागि काम गर्दागर्दै थाकेपछि मात्रै आराम गर्ने आफ्नो सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।‘जब थाक्छौँ, तब मात्रै सुत्छौँ। घडीको टिकटिकबाट हामी सुत्नेवाला छैनौँ,’ गृहमन्त्री गुरुङले भने।