|  

पहिरोले ग्यास ढुवानीमा धक्का, काठमाडौंमा मागको एकचौथाइ पनि आपूर्ति भएन

२३ भदाै, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोले काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति प्रभावित भएको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि व्यवसायीहरूले त्रिभुवन राजपथ हुँदै ग्यास ढुवानी गरिरहेका छन्।घुमाउरो र कठिन वैकल्पिक मार्गका कारण बजारको मागअनुसार ग्यास ल्याउन नसकिएको व्यवसायीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मंगलबार ९ वटा कम्पनीका जम्मा १८ हजार २ सय ५९ सिलिन्डर मात्रै उपत्यकाका डिलरमा पुगेका छन्। एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार पछिल्ला दिनमा उपत्यकामा दैनिक करिब १ लाख सिलिन्डरको माग छ। सामान्य अवस्थामा भने दैनिक ३५ देखि ४० हजार सिलिन्डर खपत हुने गरेको उनले बताए।

मंगलबार सबैभन्दा धेरै सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ सिलिन्डर बजार पठाएको छ। एभरेस्ट ग्यासले ३ हजार ४ सय ७५, सुगमले २ हजार ४ सय २३ र एसटीसी ग्यासले २ हजार १ सय ४६ सिलिन्डर वितरण गरेका छन्। आपूर्ति कम भएपछि उपत्यकाका विभिन्न डिलर तथा ग्यास उद्योगमा उपभोक्ताको भीड बढेको छ। ग्यास पाउने आशामा उपभोक्ताहरू घण्टौँदेखि लाइनमा बस्न बाध्य भएका छन्।