|  

जापानमा नेपाली युवतीको हत्याः भाँडोले हानेर नदीमा फालियो, ३ नेपाली पक्राउ

२४ भदौ, काठमाडौं ।   जापानको फुकुओका प्रान्तमा नेपाली युवतीको हत्या गरेको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २८ वर्षीया सञ्जु तामाङ, फुकुओकाको हाकाता वार्डमा बस्ने २५ वर्षीया अस्मिता तामाङ र तोसुमै बस्ने २२ वर्षीय प्रवीण लामा रहेका छन् ।

फुकुओका प्रिफेक्चुरल प्रहरीले आफ्नै देशकी महिला सहकर्मी २५ वर्षीया लक्ष्मी राजवंशीलाई कुटपिट गरी हत्या गरेर नदीमा फ्याँकेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार गत अगस्ट १८ को राति करिब ११ः३० बजेदेखि अगस्ट १९ को बिहान १२ः१५ बजेसम्म तीनै जना चुओ वार्डको कियोकावा क्षेत्रमा रहेको राजवंशीको अपार्टमेन्टमा पुगेका थिए ।

त्यहाँ खाना पकाउने भाँडोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएपछि उनलाई नदीमा फ्याँकिएको प्रहरीको अनुमान छ । राजवंशीको शव अगस्ट १९ को बिहान अपार्टमेन्टबाट करिब दुई किलोमिटर तल नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

घटनास्थलमा रगतका दाग भेटिनुका साथै राजवंशीको निधार, टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।