|  

हिमालको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाऔँः सांसद राणा

२४ भदाै, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदिको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण हिमनदी पग्लिने क्रम तिब्र बन्दै गएको भन्दै हिमनदी र हिमालको संरक्षण तथा निगरानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढी विपद्को एउटा घटना मात्र नभई हिमालयले दिएको चेतावनी भएको बताउनु भयो । सांसद राणाले वैज्ञानिक अध्ययनअनुसार हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झन्डै दोब्बर भएको र हालकै उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म गुम्न सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘रसुवाको विनाशकारी बाढी केवल एउटा दुर्घटना होइन । यो हिमालयले हामीलाई दिएको एउटा चेतावनी हो । सभामुख महोदय, वैज्ञानिक अध्ययनले हिन्दुकुश हिमालयमा सन् २००० यता हिमनदी पग्लिने गति झण्न्ै दोब्बर भएको र अहिलेको उत्सर्जनको क्रम जारी रहे यस शताब्दीको अन्त्यसम्म हिमनदिको आयतन ८० प्रतिशतसम्म गुम्नसक्ने चेतावनी दिएको छ । तर विडम्भना विश्वको ग्रीन हाउस क्षति हुनुमा नेपालको योगदान ० दशमलव १ प्रतिशत मात्रै छ । तर त्यसको मूल्य हामी जीवन, बस्ती र पूर्वाधारबाट तिरिरहेका छौँ । त्यसकार हिमनदि र हिमालहरुको रियल टाइम मोनिटरिङ, क्रस बोर्डर अर्ली वार्निङ सिस्टम र जलवायुअनुकूलन संरचना निर्माणलाई राष्ट्रि प्राथमिकता बनाऔँ ।’

उहाँले सरकारले जलवायु न्यायको लागि कुटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल