|  

ओमानमाथि नेपालको ८७ रनको शानदार जित, फाइनलमा यूएईसँग भिड्दै


२५ भदाै, काठमाडाैं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

स्पिन बलरको उत्कृष्ट प्रदर्शनमा नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरसामु निरीह देखियो। ओमानको पूरै टोली २८।१ ओभरमा मात्र ६० रनमा समेटियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। सुरुवातमै दबाबमा परेको नेपालले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ३६ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । तर, संकटमा परेको नेपाली इनिङ्सलाई दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले सम्हाले। यी दुईबीच ९३ रनको महत्वपूर्ण साझेदारी भएपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको थियो । दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने बसिरले ४७ रन बनाए। देव खनालले १३ र आसिफ शेखले ११ रन जोड्दा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानका बलरमध्ये जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। हस्नैन शाहले ८।४ ओभरमा २८ रन दिँदै तीन विकेट हात पारे। मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए ।

नेपालले दिएको सामान्य लक्ष्यलाई ओमानले पछ्याउन नसक्नुमा नेपाली स्पिन आक्रमण निर्णायक बन्यो। ६० रनमै ओमानको इनिङ्स समेटिएपछि नेपाल ८७ रनको फराकिलो जितसहित उपाधि भिडन्तमा पुगेको हो । अब नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार हुने फाइनल जित्न सके नेपालले एसिया कपमा स्थान बनाउनेछ । सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनोट भएको छ।