|  

ग्यास अभाव हटाउन सरकारलाई सांसद श्रेष्ठका सुझाव : ‘उद्योगीदेखि उपभोक्तासम्मलाई एउटै टेबलमा राखौँ’

२५ भदाै, काठमाडाैं । काठमाडौं उपत्यकामा चुलिँदै गएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले सरकारलाई विभिन्न उपाय सुझाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले ग्यासको आपूर्ति नियमित रहे पनि वितरण प्रणालीमा समस्या देखिएको भन्दै सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीबीच प्रत्यक्ष र पारदर्शी छलफल आवश्यक रहेको बताए। उनले सबै पक्षलाई एउटै ठाउँमा राखेर प्रत्यक्ष बैठक गरी समस्या कहाँ उत्पन्न भएको हो भन्नेबारे जनतालाई समेत जानकारी गराउनुपर्ने बताए। सांसद श्रेष्ठले ग्यास ढुवानी गर्ने सवारीको संख्या तत्काल बढाउन व्यवसायीलाई आग्रह गरे। उनका अनुसार हाल सीमित सवारीबाट ढुवानी भइरहेको भए त्यसलाई उल्लेख्य रूपमा बढाए अभाव कम गर्न सकिन्छ। उपभोक्ताले पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न उनले आग्रह गरे। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि कृष्णभीरमा सडक पहिरो जाँदा मुख्य सडक अवरुद्ध भएकाले काठमाडौं उपत्यकामा ग्यास ढुवानी प्रभावित भएको छ। सडक खुलेपछि आपूर्ति सहज हुने भएकाले अहिले सबै पक्षले संयम अपनाउनुपर्ने श्रेष्ठको भनाइ छ।

उनले ग्यास अभाव व्यवस्थापनका लागि छुट्टाछुट्टै ‘सेल’ र सम्पर्क नम्बर तोक्न पनि सरकारलाई सुझाव दिएका छन्। काठमाडौं उपत्यका, विपद् प्रभावित जिल्ला र अन्य क्षेत्रको समस्या छुट्टाछुट्टै हेर्ने गरी संयन्त्र बनाउनुपर्ने उनको प्रस्ताव छ। तत्कालीन अभावसँगै दीर्घकालीन रूपमा ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने श्रेष्ठको सुझाव छ। सरकारले विद्युतीय चुलोमा विशेष छुट दिने योजना ल्याउन सके ग्यासको निर्भरता घटाउन सकिने उनले बताए।

त्यस्तै, नेपालमै पहिचान भएका सम्भावित प्राकृतिक ग्यासका स्रोतको उत्खनन प्रक्रिया अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।