|  

काँग्रेस सचेतक राईको प्रश्न- राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

२५ भदाै, काठमाडाैं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् ।

विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सरकारलाई ‘जेन्जी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरुको जगमा बनेको सरकारले विधि मिच्न थालेको बताए । उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाए । उनले रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरे ।

साथै विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरेका छन् । उनले मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएको पनि आपत्ति जनाए । उनले छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन सरकारसंग माग गरे । उनले स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरे । उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका यी तीनवटा विषय फरक देखिएपनि तिनको मूल प्रश्न एउटै रहेको उल्लेख गरे । उनले भने,‘एउटा रेडक्रसको विषय, एउटा रोजगारीको विषय, अर्को स्वास्थ्य बीमाको तर धागो एउटै छ । रेडक्रसको प्रसङ्ग संस्थाको स्वायत्तताको हो । रोजगारीको प्रश्नको कुरा भनेको निष्पक्ष प्रतिस्पर्धाको कुरो हो । दर्ता सहयोगीको प्रश्नलाई हेर्ने हो भने श्रमको समानताको हो । र यी तीनवटै प्रश्नको मूल प्रश्न एउटै हो, राज्य विधिबाट चल्छ कि पहुँचबाट भन्ने कुरा । संस्था नियमले चल्छ कि रुचिले । सरकार नागरिकको सेवामा छ कि सीमित स्वार्थको संरक्षणमा ।’

उनले सरकारका मन्त्रीहरुले पछिल्लो समयमा दिएका अभिव्यक्तिहरुप्रति पनि असन्तुष्टी जनाए । गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले प्रतिपक्ष सिक्न तयार रहेको बताए । तर विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त सिक्न तयार रहेको उनको भनाई छ । उनले भने,‘हामी सिकाउन आएका हौँ भन्ने कुरा पनि सुनियो। हामी सिक्न तयार छौँ । हामी प्रतिपक्षी दल सधैँ सिक्न तयार छौँ । तर सिक्न संस्कार सिक्न चाहन्छौँ । विधि, प्रक्रिया, पद्धति सिक्न चाहन्छौँ । विधानसङ्गत कुरा सिक्न चाहन्छौँ । सहिष्णुता सिक्न चाहन्छौँ, सिद्धान्त सिक्न चाहन्छौँ । यो पूर्वाग्रही भएर भनेको होइन सभामुख महोदय । आलोचना र प्रश्न हामीले गर्नै पर्छ । तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम यी कुराहरू हामी अहङ्कार सिक्न आएका होइनौँ । विवादित धर्मगुरुहरूको सङ्गत हामी सिक्न आएका होइनौँ ।’

उनले प्रतिपक्षले सरकारको आलोचना र प्रश्न गर्न पाउने बताए । अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रमलाई स्वीकार गर्न नसकिने उनको भनाई छ ।