|  

रसुवा बाढीपीडितका लागि विशेष राहत प्याकेज ल्याउन सांसद आचार्यको माग

२५ भदाै,काठमाडाैं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढी प्रभावित रसुवाका नागरिकका लागि सरकारले तत्काल विशेष राहत प्याकेज ल्याउनुपर्ने माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि विशेष शैक्षिक प्याकेज ल्याउनुपर्ने बताए। अभिभावक गुमाएका बालबालिकासँगै अभिभावक भएका परिवारका बालबालिकाको भविष्यसमेत संकटमा परेको उनको भनाइ छ। बाढीका कारण होटल, पर्यटन तथा अन्य व्यवसायमा संलग्न व्यवसायीले सम्पत्ति गुमाउनुका साथै ऋणको भारसमेत खेप्नुपरेकाले उनीहरूका लागि विशेष राहत तथा ऋण पुनर्संरचनासहितको प्याकेज आवश्यक रहेको आचार्यले बताए। क्षति भएका क्षेत्रमा बीमा रकम तत्काल उपलब्ध गराउन पनि उनले सरकारसँग आग्रह गरे। हाइड्रोपावर, पर्यटन र रसुवागढी नाका जिल्लाको मुख्य आर्थिक आधार रहेको उल्लेख गर्दै आचार्यले बाढीपछि ठूलो संख्यामा नागरिक तथा व्यवसायी सम्पर्कविहीन रहेको बताए।

सडक सञ्जाल अवरुद्ध हुँदा राहत तथा उद्धारमा कठिनाइ भएको भन्दै उनले संघीय र प्रदेश सरकारलाई सडकमार्ग तत्काल पुनःस्थापना गर्न आग्रह गरे। साथै, विपद्पछिको पुनर्निर्माण भूकम्पपछिको जस्तो ढिलो नगरी तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। बाढीका कारण रसुवाका नागरिकको मानसिक स्वास्थ्यमा समेत असर परेको भन्दै उनले प्रभावित समुदायका लागि आवश्यक मनोसामाजिक सहयोगको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।