|  

चिलिमे सुरुङमा फसेका ६ जनाबारे आशा बढ्यो, उद्धार टोली विद्युतगृह नजिकिँदै

२५ भदाै, काठमाडाैं । चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा सम्पर्कविहीन रहेका ६ कर्मचारीको खोजी तथा उद्धारमा आशा जगाउने संकेतहरू भेटिएका छन्।

सुरुङभित्रबाट चिसो हावा बाहिरिनुका साथै आवाज पठाउँदा इको सुनिएपछि उनीहरू जीवितै रहेको हुनसक्ने सम्भावना बलियो भएको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार साँघुरिएको सुरुङ क्षेत्रमा आवाज पठाउँदा करिब १२० मिटर भित्रबाट प्रतिध्वनि सुनिएको छ। त्यही क्षेत्रबाट चिसो हावा समेत बाहिर आइरहेकाले सुरुङभित्र मानिसहरू रहेको हुनसक्ने अनुमान गरिएको उनले बताएका छन्। भदौ १० गते आएको बाढीपछि आयोजनाका ६ कर्मचारी सम्पर्कविहीन भएका थिए। घटना भएको १६ दिन बितिसक्दा पनि उद्धार टोली मुख्य पहुँच सुरुङमा थुप्रिएको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युतगृहसम्म पुग्ने प्रयासमा जुटेको छ। घिसिङले चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वयमा सहयोग गरिरहेको जानकारी दिएका छन्। उद्धार टोलीले सुरुङभित्र जमेको लेदोको अवरोध क्रमशः हटाउँदै अघि बढिरहेको छ। विद्युतगृहसम्म पुग्न अब करिब १०० मिटर दूरी बाँकी रहेको बताइएको छ।

उता, स्याफ्रुबेँशीबाट एक्स्काभेटरमार्फत सुरुङ क्षेत्रसम्म पुग्ने वैकल्पिक बाटो निर्माण पनि जारी छ। एक्स्काभेटर सुरुङसम्म पुर्‍याउन सकिए उद्धार तथा अवरोध हटाउने काम अझ तीव्र हुने अपेक्षा गरिएको छ। सुरुङभित्रबाट प्राप्त आवाजको प्रतिध्वनि र बाहिर निस्किएको चिसो हावाले उद्धारमा खटिएका टोली तथा बेपत्ता कर्मचारीका परिवारमा आशा थपिएको छ। घिसिङले उद्धारका क्रममा भइरहेको प्रत्येक मिटरको प्रगति र प्राप्त संकेतलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धारकर्मी, स्थानीय प्रशासन र चिलिमे जलविद्युत कम्पनीका कर्मचारी सहभागी छन्। घिसिङले उद्धारमा खटिएका सबै टोलीप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका ६ जनालाई सकुशल बाहिर निकाल्न सकिने विश्वास व्यक्त गरेका छन्।