|  

बालेन-लक्सन फोनवार्ताः भोटेकोशी बाढीपछि उद्धार र पुनःस्थापनाबारे छलफल

२६ भदाै, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच रसुवाको भोटेकोशीमा आएको बाढी तथा त्यसबाट उत्पन्न मानवीय संकटबारे टेलिफोन संवाद भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिइएको जानकारी गराए। बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको उनले बताए।प्रधानमन्त्री शाहले विपद्को समयमा न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगका लागि धन्यवाद व्यक्त गरे।

नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा जलवायुजन्य क्षति तथा नोक्सानीको वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक भूमिका आवश्यक रहेको बताए। उनले यस विषयमा न्यूजिल्याण्डको निरन्तर सहयोगका लागि आग्रहसमेत गरे। टेलिफोन संवादमा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा भएको विनाशकारी बाढीप्रति आफ्नो सरकार र न्यूजिल्याण्डका जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाए। उनले विपद्को यस कठिन घडीमा नेपालप्रति न्यूजिल्याण्डको साथ र सहयोग रहेको सन्देशसमेत दिएका थिए।