|  

निजी क्षेत्रसँग प्रधानमन्त्री बालेन शाहको छलफल, अर्थतन्त्र चलायमान बनाउने उपायमा जोड

२६ भदाै, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो आर्थिक अवस्था र निजी क्षेत्रले भोगिरहेका समस्याबारे उद्योगी तथा व्यवसायीहरूसँग छलफल थालेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। छलफलमा उद्योग-व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप गतिशील बनाउने उपायबारे केन्द्रित भएर छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयलाई पनि छलफलमा प्राथमिकता दिइएको बताइएको छ।

निजी क्षेत्रले भोगिरहेका व्यावहारिक कठिनाइ पहिचान गरी त्यसको समाधानमार्फत लगानी विस्तार र आर्थिक गतिविधि बढाउने विषयमा प्रधानमन्त्री शाहले उद्योगी-व्यवसायीका सुझावसमेत लिइरहेका छन्।