|  

एमाले कार्यदलमा थापा र पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन, एउटै बनाउन छलफल हुने

२६ भदाै, काठमाडौं । नेकपा एमालेको समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल पक्षबाट तयार पारिएका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा कार्यदल संयोजक थापाले दुवै प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकमा महासचिव पोखरेलतर्फबाट तयार गरिएको प्रतिवेदनसँगै आफ्नोतर्फबाट तयार पारिएको प्रतिवेदन पनि थापाले पेस गरेका थिए। अब दुवै दस्तावेजमाथि विस्तृत छलफल गरी साझा निष्कर्षसहित एउटै प्रतिवेदन तयार गर्ने तयारी गरिएको छ। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकले आज पेस भएका प्रतिवेदनको अध्ययन गर्ने र त्यसपछि थप छलफल अघि बढाउने निर्णय गरेको छ। आचार्यका अनुसार कार्यदलको बैठक शनिबारदेखि आवासीय रूपमा सञ्चालन हुनेछ। आवासीय बैठकमा दुवै प्रतिवेदनका विषयवस्तुमाथि गहन छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने प्रयास गरिनेछ। ‘आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय भएको छ,’ आचार्यले भने।प्रतिवेदन अध्ययनका लागि शुक्रबारको बैठक स्थगित गरिएको हो।