|  

बाढी प्रभावित नुवाकोट पुगे प्रचण्ड, राहतदेखि पुनर्निर्माणसम्म सरकारको ध्यानाकर्षण

२७ भदाै, काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवस्थाबारे जानकारी लिन प्रचण्ड नुवाकोट पुगेका हुन्। उनले महादेवफाँट, देवीघाट, ढुङ्गे तथा त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा प्रचण्डले बाढीपीडितसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र तत्काल आवश्यकताबारे जानकारी लिएका थिए। निरीक्षणपछि उनले विपद्पछि प्रभावित नागरिकलाई तत्काल राहत र उद्धारसँगै पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारको ध्यान जानुपर्ने बताए। उनले विपद्को सामना गर्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले समन्वयमा प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

बाढीका कारण क्षतिग्रस्त नुवाकोटका सम्पदा, धार्मिक तथा पर्यटकीय स्थल र स्थानीय पहिचानसँग जोडिएका संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकता दिनुपर्ने प्रचण्डको भनाइ छ। काठमाडौंँबाट सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रचण्डले देवीघाटमा बाढीले क्षति पुर्‍याएपछि निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण गरेका छन्। उनले बाढीबाट भएको क्षतिको अवस्था र पुनर्निर्माणका लागि भइरहेका प्रयासबारे सम्बन्धित पक्षसँग जानकारी लिएका थिए।