|  

भारतद्वारा नेपाललाई ७० मिटरका तीन मोड्युलर पुल हस्तान्तरण

२८ भदौ, काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने तीन वटा पुल उपलब्ध गराएको छ ।

भारतले उपलब्ध गराएका ती तीन वटा मोड्युलर पुल सडक डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो । ७०–७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गरेका हुन्।

गएको भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप यी पुल उपलब्ध गराएको हो । भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति भएको छ ।

भारतबाट प्राप्त तीन वटा मोड्युलर पुल बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ । मोड्युलर पुल एकापसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ ।