२८ भदाै, काठमाडाैं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्कीले राजधानीको बढ्दो जनसङ्ख्या, शहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले भविष्यमा यसको प्रभावकारी उपाय खोज्नुपर्ने बताउनु भयो । नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताउनु भयो । स्थानीय तहले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उहाँको भनाइ छ । कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरले गरिरहेको कामको प्रशंसा गर्नुभयो ।
राजधानीको शहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र शहरी व्यवस्थापनको स्तरसमेत झल्काउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग भौतिक संरचना निर्माणलगायतका विषयमा सहयोग र समन्वय गर्न पत्राचार भइरहेको छ । यसै सन्दर्भमा हामीले पनि सुरक्षा संरचनालाई प्राथमिकता दिँदै सुरक्षाकर्मीको आवास, यातायात तथा आवश्यक स्रोत–साधनको व्यवस्थापनमा थप ध्यान दिन आवश्यक छ । स्थानीय तहहरूले नेपाल प्रहरीलाई आवश्यकताअनुसार जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण र मर्मतमा सहयोग गर्ने, सवारी साधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने, सीसीटीभी जडान तथा विस्तार गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेजस्ता कामले सुरक्षा सेवालाई थप प्रभावकारी बनाउँछ । यसबाट प्रहरी, महानगर प्रहरी र नागरिकबीचको समन्वय पनि अझ सुदृढ हुनेछ । बढ्दो जनसङ्ख्या, सहरीकरण, सवारी चाप, सार्वजनिक स्थान व्यवस्थापन, फोहोरमैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनजस्ता विषयमा महानगरपालिकाको कार्यसम्पादनले राजधानीको सहरी व्यवस्थापनको स्तर झल्काउँछ । अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने र सफा सडकमा हिँड्न पाउने अवस्था बनेको छ । स्वच्छ र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ । एआई–इनेबल्ड सीसीटीभी, व्यवस्थित बस स्टप, बस पार्क, पार्किङ स्टेसन तथा वैज्ञानिक पार्किङ व्यवस्थापनमा जोड दिन आवश्यक छ । त्यसैगरी, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र इमर्जेन्सी रेस्पोन्स सिस्टमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबीच थप योजना र सहकार्यका साथ अघि बढ्ने वातावरण निर्माण हुने अपेक्षा राख्दछु । ’
आगामी दिनमा महानगर र नेपाल प्रहरीले थप योजनाका साथ संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिँदै कार्कीले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar