|  

हरिवंशले भने- ‘काठमाडौं धेरै बिग्रिसक्यो, अब सम्पदा जोगाउने बेला हो’

२८ भदाै, काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौंको बिग्रँदो स्वरूपलाई फर्काउन अब विकाससँगै मौलिक सम्पदा, संस्कृति र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आचार्यले पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनेतर्फ भएका केही कामले सकारात्मक संकेत दिएको बताए। काठमाडौं करिब ५० वर्षअघिदेखि नै अव्यवस्थित हुँदै गएको उल्लेख गर्दै उनले अब थप बिग्रन नदिई सहरको मौलिक पहिचान जोगाउनुपर्नेमा जोड दिए। “करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन सुरु भएको हो। तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ,” आचार्यले भने।

पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा निर्माण भइरहेका फल्चालाई उनले सम्पदा संरक्षणको महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरे। फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यससँग काठमाडौंको संस्कृति र इतिहास जोडिएको उनको भनाइ छ। “हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ,” उनले भने। आचार्यले काठमाडौंलाई ‘देवताहरूको सहर’ भन्दै यसको संरक्षणलाई केवल महानगरपालिका वा नेतृत्वको जिम्मेवारीका रूपमा लिन नहुने बताए। महानगरको स्वरूप परिवर्तन गर्न नेतृत्वसँगै नागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै उनले प्रत्येक महानगरवासी आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने धारणा राखे।

काठमाडौंको पछिल्लो सरसफाइ र सौन्दर्यबारे भारतीय युट्युबरहरूले तयार पारेको भिडियो सामग्रीले आफूलाई खुसी र गर्व महसुस गराएको आचार्यले सुनाए। उनका अनुसार उक्त सामग्रीमा काठमाडौंको सरसफाइ र सौन्दर्यको प्रशंसा गर्दै अन्यले पनि यहाँबाट सिक्नुपर्ने धारणा प्रस्तुत गरिएको थियो। “उनीहरूले काठमाडौं अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन्। त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ,” उनले भने। महानगरमा देखिएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सरसफाइ, सुन्दरता र सम्पदा संरक्षणमा अझ प्रभावकारी काम गर्नुपर्ने उनको सुझाव छ। काठमाडौंको पहिचान जोगाउने काममा महानगरको नेतृत्वसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको आचार्यले बताए।