|  

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार आवास भाडा

२८ भदाै, काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजार रुपैयाँ आवास भाडा उपलब्ध गराउने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त दिइनेछ। सरकारले भाडा लिन नचाहने परिवारका लागि स्थायी आवास निर्माण नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत राखेको छ। आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको मन्त्री तिमल्सिनाले जानकारी दिए।

सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन पूरा गरिसकेको जनाउँदै विस्तृत आवश्यकता मूल्याङ्कनपछि पुनर्निर्माण तथा पुनर्स्थापनाका काम अघि बढाउने जनाएको छ। रसुवा, नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा सुरक्षित पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिइने तिमल्सिनाको भनाइ छ।