३० भदाै, काठमाडाैं । भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ गन्तव्यमा नपुग्दै निकालिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा छापा मार्दा ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतबाट भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए। प्रहरीले बिहान करिब १० बजे छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ। प्रहरीका अनुसार दुवै ट्याङ्करको सिल तोडिएको अवस्थामा थियो। ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिएको समेत भेटिएपछि प्रहरीले ती ट्याङ्कर नियन्त्रणमा लिएको हो। घटनापछि प्रहरीले एक जना सहचालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बाटोमै रोकेर तेल निकालिएको घटना सार्वजनिक भएपछि पेट्रोलियम पदार्थ ढुवानी प्रणालीमाथि प्रश्न उठेको छ। निकटस्थ स्रोतहरूका अनुसार ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा भलवारी डिपोका लागि आउने पेट्रोलियम पदार्थ बाटोमै निकाल्ने गतिविधि लामो समयदेखि हुँदै आएको दाबी छ। यद्यपि, यसबारे आधिकारिक अनुसन्धानबाट तथ्य पुष्टि हुन बाँकी छ। स्रोतका अनुसार डिपोमा ट्याङ्करको सिलको अवस्था नियमित रूपमा परीक्षण गर्ने तथा भारतबाट आयात भएर आएको पेट्रोलियम पदार्थको परिमाण पर्याप्त रूपमा नापजाँच गर्ने प्रणाली प्रभावकारी हुन नसकेको आरोप छ।
सिलदेखि नापजाँचसम्म निगरानी कमजोर?
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको सिल तोडिएको अवस्थामा बीच बाटोमै तेल निकालिएको भेटिनुले ट्याङ्करको सुरक्षा, सिल परीक्षण र ढुवानी अनुगमन प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ। भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ बोकेर आउने ट्याङ्करबाट यसअघि पनि तेल चोरीका घटना हुने गरेको बताइएको छ। त्यसैले पछिल्लो घटनालाई छुट्टै घटनाका रूपमा मात्र नभई ढुवानीदेखि डिपोसम्मको सम्पूर्ण निगरानी प्रणालीसँग जोडेर हेर्नुपर्ने देखिएको छ। प्रहरीले नियन्त्रणमा लिएका ट्याङ्कर र सहचालकमाथि अनुसन्धान जारी राखेको जनाएको छ। अनुसन्धानबाट तेल निकाल्ने कार्यमा थप व्यक्ति वा समूहको संलग्नता भए/नभएको खुल्नेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar