|  

एक वर्षमै घरजग्गा कारोबार ३ खर्ब ३४ अर्बले बढ्यो, काठमाडौंमा कारोबारको उछाल

३० भदाै, काठमाडौं । लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा गत आर्थिक वर्ष उल्लेख्य चलायमान देखिएको छ।

एक वर्षमै घरजग्गा कारोबारको रकम ३ खर्ब ३४ अर्ब रुपैयाँले बढेर ७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ।आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो रकम बढेर ७ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो। कारोबारको गति विशेषगरी आर्थिक वर्षको अन्तिम तीन महिनामा तीव्र भएको देखिन्छ। गत आवको चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँमा सीमित थियो।

रकमसँगै कारोबारको संख्या पनि बढ्यो

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आवको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। गत आवको चौथो त्रैमासमा कारोबार संख्या मात्रै १२.२५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि १४.६५ प्रतिशत थियो। लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढ्दा राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले उकालो लागेको छ। अघिल्लो आर्थिक वर्ष राजीनामा कारोबारको वृद्धि ८.१५ प्रतिशत मात्रै थियो। घरजग्गा कारोबार भएको कुल क्षेत्रफलमा पनि १५.४१ प्रतिशतको वृद्धि भएको छ। अघिल्लो आवमा भने कारोबार भएको क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

कारोबार बढ्दा सरकारको आम्दानी पनि उक्लियो

घरजग्गा कारोबारमा आएको सुधारको प्रत्यक्ष प्रभाव सरकारी राजस्वमा देखिएको छ। गत आवमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ। अघिल्लो आवमा यस्तो राजस्व वृद्धिदर २३.४५ प्रतिशत थियो। त्यस्तै, घरजग्गा कारोबारबाट प्राप्त पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो लाभकर २९.९८ प्रतिशतले बढेको थियो। घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा पनि ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आवमा यस्तो कर्जा वृद्धिदर ५.८६ प्रतिशत थियो।

बागमतीमा कारोबारको सबैभन्दा ठूलो उछाल

प्रदेशगत तथ्यांकमा घरजग्गा कारोबारको गति बागमतीमा सबैभन्दा तीव्र देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा बागमती प्रदेशमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो कारोबार ३.४४ प्रतिशतले घटेको छ। अन्य प्रदेशमा कारोबार बढेको छ। कारोबार भएको कुल क्षेत्रफलमा पनि बागमती अगाडि छ। बागमतीमा यस्तो क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ भने मधेशमा ६.१९ प्रतिशतले घटेको छ। कारोबारको कुल मूल्य भने सातै प्रदेशमा बढेको छ। बागमतीमा कुल कारोबार मूल्य १७५.३३ प्रतिशतले बढ्दा मधेशमा ३१.९८ प्रतिशतको वृद्धि भएको छ।सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार भएको देखिएको छ।

महानगरमा काठमाडौंको कारोबार दोब्बरभन्दा बढी

महानगरपालिकामध्ये काठमाडौंमा घरजग्गा कारोबारको वृद्धि सबैभन्दा तीव्र देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा कुल घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको छ।कारोबार भएको कुल क्षेत्रफल पनि सबै महानगरपालिकामा बढेको छ। काठमाडौंमा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगञ्जमा १३.३१ प्रतिशतको वृद्धि भएको छ। कारोबारको कुल मूल्यमा समेत सबै महानगरपालिका अगाडि देखिएका छन्। काठमाडौंमा कुल कारोबार मूल्य २१७.४० प्रतिशतले बढेको छ।

उपमहानगरमा धनगढी र हेटौंडा अगाडि

उपमहानगरपालिकातर्फ कलैया बाहेक सबैमा घरजग्गा कारोबार संख्या बढेको छ। धनगढी उपमहानगरपालिकामा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा यस्तो कारोबार स्थिर रहेको छ। कारोबार भएको कुल क्षेत्रफलमा सबै उपमहानगरपालिकामा वृद्धि भएको छ। हेटौंडामा यस्तो क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ। कारोबारको कुल मूल्य पनि सबै ११ उपमहानगरपालिकामा बढेको छ। मूल्य वृद्धिमा हेटौंडा सबैभन्दा अगाडि छ, जहाँ घरजग्गा कारोबारको कुल मूल्य १८६.८० प्रतिशतले बढेको छ।

समग्रमा हेर्दा गत आर्थिक वर्ष घरजग्गा बजारमा कारोबार रकम, कारोबार संख्या, कारोबार भएको क्षेत्रफल, सरकारी राजस्व, पुँजीगत लाभकर र बैंक कर्जा प्रवाह-सबै सूचकमा सुधार देखिएको छ। विशेषगरी बागमती प्रदेश र काठमाडौं उपत्यकामा देखिएको तीव्र वृद्धिले समग्र घरजग्गा बजारको कारोबार रकम बढाउन ठूलो भूमिका खेलेको देखिन्छ।