|  

विपत्तिमा ‘एक्लै काफी छु’ भन्ने घमण्ड नगर्न सरकारलाई एमालेको आग्रह

३० भदाै,काठमाडाैं । नेकपा एमालेले विपत्तिको समयमा सरकार एक्लैले सबै व्यवस्थापन गर्न सक्छ भन्ने सोच नराख्न आग्रह गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले विपद्पछिका तत्कालीन उद्धार तथा राहतका काममा सरकार चुकेको आरोप लगाइन्। उनले विपत्तिका बेला सार्वजनिक आह्वान, कूटनीतिक पहलमार्फत सहयोग जुटाउनुका साथै विद्यालय तथा क्याम्पसका इन्जिनियर र अन्य विज्ञलाई परिचालन गर्न नसकेको बताइन्। अर्यालले विपद्का अनुभवबाट पाठ सिक्दै तत्काल सर्वदलीय बैठक बोलाएर साझा छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरिन्। प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले देश र जनताको माया सरकारलाई मात्र बढी नभएको भन्दै विपत्तिमा ‘एक्लै काफी छु’ भन्ने मानसिकता त्याग्न आग्रह गरिन्।उनले सरकारले केही काम गरे पनि अझ प्रभावकारी ढंगले धेरै काम गर्न सकिने अवस्था रहेको बताइन्।