३० भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्थापन गर्ने भएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निःस्वार्थ रूपमा जात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई आवश्यक खानपानको व्यवस्था गर्नु महानगरको साझा दायित्व भएको बताउनुभएको हो । इन्द्रजात्राको तयारीबारे गुठीहरूसँग मंगलवार भएको छलफलमा डंगोलले सामाजिक सेवाका रूपमा फिल्डमा खटिने स्वयंसेवकलाई कम्तीमा खाना, खाजा र पानीको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले वाह्य व्यवस्थापनको संयोजन गणपतिलाल श्रेष्ठले गर्ने र स्वयंसेवकको खाजासहित आवश्यक व्यवस्थापनका लागि सूची बनाएर तत्काल तयारी अघि बढाउन आग्रह गर्नुभयो । महानगरपालिकाले व्यवस्थापनलाई तीव्रता दिने पनि उहाँले बताउनु भयो । डंगोलले इन्द्रजात्रामा यसपटक काठमाडौं महानगरपालिकाबाटै मुआली बजाउने तयारी भइरहेको जानकारी समेत दिनुभयो । उहाँकाअनुसार मुआली बजाउनेका लागि लक्ष्मीश्वर, टेकुमा तालिम भइरहेको छ । परम्परागत रूपमा काठमाडौंमा मुआली बजाउने व्यवस्था नभएका कारण भक्तपुरबाट मुआली ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले अब काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वाह्य व्यवस्थापनका क्रममा विशेषगरी स्वयंसेवकहरूको आवश्यकतामा ध्यान दिन जरुरी छ । कुनै स्वार्थ, पद वा आर्थिक अपेक्षा नराखी सामाजिक भावनाले फिल्डमा खटिने स्वयंसेवकहरूलाई कम्तीमा खाना, खाजा र पानीको व्यवस्था गर्नु हाम्रो साझा दायित्व हो । वाह्य व्यवस्थापनका संयोजक गणपतिलाल श्रेष्ठज्यूले पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ । यस वर्षदेखि वाह्य व्यवस्थापनअन्तर्गत स्वयंसेवकहरूको खाजालगायत आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने व्यवस्था गरिएको छ । इन्द्रजात्रामा पनि यसलाई निरन्तरता दिइनेछ । आवश्यक व्यवस्थाको सूची तयार गरी प्रशासनिक प्रक्रिया अघि बढाउन र कामलाई यथाशिघ्र अगाडि बढाउन अनुरोध गर्दछु । काठमाडौं महानगरपालिकाले पनि यस कार्यलाई तीव्रता दिनेछ । यसपटक कम्तीमा स्वयंसेवकहरू भोकै बसे भन्ने गुनासो आउन नदिऔँ । अर्को महत्वपूर्ण विषय मुआली बाजासँग सम्बन्धित छ । काठमाडौंमा मुआली बजाउने परम्परा कमजोर भएकाले विगतमा भक्तपुरबाट जनशक्ति ल्याउनुपर्ने अवस्था थियो । तर यसपटक काठमाडौं महानगरपालिकाले काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम शुरु गरिसकेको छ । लक्ष्मीश्वर, टेकुमा अहिले तालिम सञ्चालन भइरहेको छ । यस कार्यमा हनुमानढोका कार्यक्रमबाट नेतृत्व र सम्पदा शाखाबाट आवश्यक समन्वय गरी अघि बढ्न अनुरोध गर्दछु । लामो समयदेखि काठमाडौं महानगरपालिकाबाट मुआली बजाउने परम्परा निरन्तर हुन नसकेको अवस्थामा यसपटक त्यसलाई पुनःस्थापित गर्ने प्रयास गरिएको छ । तालिम पूरा भएपछि यस वर्षदेखि महानगरपालिकाकै तर्फबाट मुआली बजाउने व्यवस्था गरिनेछ ।’
डंगोलकाअनुसार काठमाडौं महानगरपालिकाबाट मुआली बजाउने परम्परा रोकिएको करिब २५ वर्ष भएको छ । यसपटक गोल्डेन जुब्लीपछि महानगरपालिकाबाटै मुआली बजाउने गरी तयारी भइरहेको उहाँले बताउनु भयो । इन्द्रजात्राको मुख्य कार्यक्रम हनुमानढोका क्षेत्रबाट नेतृत्व लिने र सम्पदासँग सम्बन्धित कार्यक्रमलाई समेत समन्वय गरेर अघि बढाउने तयारी गरिएको महानगरले जनाएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar