|  

नेकपा सांसद शर्माको प्रश्न- रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमै जानुपर्ने हो ?

३२ भदाै, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागिरकले हैरानी खेप्नुपरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आलोचना गरेका हुन् । उनले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले बबिता पासवाङले ७ सय रुपैयाँको अभावमा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको घटनालाई स्वास्थ्य सेवा प्रणालीको गम्भीर कमजोरी भएको बताए । संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै उहाँले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरे । के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो ? उनको प्रश्न छ । उनले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपाललाई निम्तो नदिनुको कारणबारे सरकारसँग जवाफ माग गरे ।उनले भन्नुभयो, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागरिकले हस्पिटलमा उपचार नपाएर लामबन्दी र हैरानी खेप्नुपरेको छ । त्यसेको पछिल्लो उदाहरण हुन् बबिता पासवाङ । संविधानको धारा ३८ प्रजनन स्वास्थ्यको हक र सुरक्षित मातृत्व ऐन २०७५ ले आकस्मिक प्रसुति सेवा अनिवार्य गरेको छ । के यो देखाउनका लागि मात्र हो ? के रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमा जानुपर्ने हो ? ७ सय रुपैयाँ नहुँदा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपर्ने विडम्बनापूर्ण स्थिति निकै दुःखदायी र देशकै लागि लज्जाजनक स्थिति होइन र सम्माननीयज्यू ? सभामुखमार्फत म सोध्न चाहान्छु-छिमेकमै भएको ब्रिक्स सम्मेलनको निम्तोबाट नेपाल किन छुट्यो ? के यो सरकारको परराष्ट्र नीति र कुटनीतिको असफलता होइन र ? अनि यो ग्रेजोनमा प्रकाशित विषयमो वास्तविकता के हो सम्मानित सदनमा जानकारी गराइयोस् ।’

उनले ग्रजोन प्रतित्रामा प्रकाशित सामग्रीको वास्तविकताबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराए । –न्युज एजेन्सी नेपाल