|  

संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : गगन थापा

३२ भदाै, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न विपद्बारे अध्ययन गर्न गठन हुने संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्ने बताए। समितिलाई जिम्मेवारी दिएर प्रतिवेदन तयार गराउने तर सरकारले त्यसलाई बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ छ। थापाले समितिले दिएको सुझावअनुसार सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए। उनले आफूहरू सरकारलाई बिनासर्त सहयोग गर्न र संसदीय समितिमा बसेर काम गर्न तयार रहेको बताए। साथै, समिति गठनअघि नै यसको कार्यक्षेत्र र जिम्मेवारीबारे प्रधानमन्त्रीसँग संवाद गर्नुपर्ने धारणा राखे। सरकार र संसद्बीच समन्वय भए समितिको काम प्रभावकारी हुने भन्दै थापाले प्रधानमन्त्रीले संसदीय समितिको काममा अपनत्व लिनुपर्ने बताए।