|  

सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे-योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ?

३२ भदाै,काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले राजदुत नियुक्तिमा ढिलाई भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले राजदूतको कुर्सी खालि राखेर कुटनीति बलियो हुन नसक्ने बताए । योग्यता, क्षमाता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरु पनि प्रशस्तै छन्, अनि किन रोकियो ? उनको प्रश्न छ । उनले प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको भएपनि  अमेरिकामै नेपालको राजदूत नरहनु विडम्बनापूर्ण भएको बताए । उनले रिक्त रहेको कुटनीतिक नियोगलाई नेतृत्वविहीन नराख्न सरकारको ध्यानाकर्षण गराए । उनले भने,‘राजदुतको कुर्सी खाली राखेर कुटनीति बलियो हुँदैन । अहिलेसम्म राजदुत नियुक्ति किन नगरेको सरकार ? जनताले झण्डै दुई तिहाईको जनादेश दिएर हामीलाई पठाएका हुन् र अझै दिने आशामा छन् । हामी सांसदले पार्टी र सरकारलाई विश्वास गरेर साथ दिएकै छौँ । योग्यता, क्षमाता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरु पनि प्रसस्तै छन् । अनि रोकियो चाँही कहाँ ? के ले रोक्यो, कसले रोक्यो सरकार ? प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुन अमेरिका जाँदै हुनुहुन्छ । तर बिडम्वना अमेरिकामा नेपालको राजदुत हुनुहुन्न । त्यसैले सरकारसँग म माग गर्दछु, अविलम्व राजदुत नियुक्ति गरियोस् ।’

उनले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा नछोड्न समेत सरकारको ध्यानाकर्षण गराए ।–न्युज एजेन्सी नेपाल