|  

रसुवा बाढीको वैज्ञानिक कारण खोज्न ७ सदस्यीय विज्ञ समिति गठन

३२ भदाै,काठमाडौं । सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र घटनाक्रम पत्ता लगाउन सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविज्ञ, ग्लेसियोलोजिस्ट, रिमोट सेन्सिङ, भूगर्भ, जलविद्युत् पूर्वाधार तथा विपद् जोखिम न्यूनीकरण विज्ञ छन्। समितिले बाढीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी हिमनदी, पहिरो, भूगर्भीय अवस्था, नदीको बहाव र बाढीबीचको सम्बन्ध पहिचान गर्नेछ।मन्त्रालयका अनुसार अध्ययनले बाढीको तत्कालीन भौतिक कारणसँगै जलवायु परिवर्तनको सम्भावित प्रभावसमेत वैज्ञानिक रूपमा मूल्यांकन गर्नेछ। साथै, यस्ता विपद्बाट ऊर्जा पूर्वाधारमा हुने क्षति न्यूनीकरण र जलविद्युत् क्षेत्रको उत्थानशीलता बढाउने उपायबारे पनि सुझाव दिइनेछ। अध्ययन तीन चरणमा हुने मन्त्रालयले जनाएको छ,पहिलो चरणमा घटनाक्रम र भौगोलिक क्षति, दोस्रोमा भौतिक कारण र तेस्रोमा जलवायु परिवर्तनको प्रभावको मूल्यांकन गरिनेछ।