|  

बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल

३२ भदाै,काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढी तथा विपद् व्यवस्थापनबारे बुधवार बसेको सर्वदलीय बैठकले एक साताभित्र सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको बताएका छन् ।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता शाहीले निर्णयसँगै बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकका समस्या सम्बोधन गर्न ‘सनसेट ल’ ल्याउने विषयमा समेत छलफल भएको जानकारी दिएका हुन् । शाहीकाअनुसार बाढीका कारण बेपत्ता भएका व्यक्तिको अवस्था, उनीहरूसँग जोडिएको बीमा तथा डीएनए पहिचान लगायतका विषयलाई कानूनी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता बैठकमा उठेको थियो । उनले भने,‘अबको सात दिनभित्र सर्वदलीय संयन्त्र बन्ने र संसदइि समिति बन्नेछ । सनसेट लहरु लागू गर्ने कुरा भएको छ । बाढी पीडित अहिले जसरी बेपत्ता छन्, बेपत्ता भइसकेपछि पनि उनीहरुको इन्स्योरेन्सको कुरा छ । डिएनएको कुरा छ ।’

बैठकले भोटेकोशी बाढीपछि खोजी, उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको थियो। उक्त संयन्त्रमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दललाई सहभागी गराउने तथा छुटेका दललाई समेत समेट्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै, विपद् व्यवस्थापन, जलवायु परिवर्तन र राज्यका विभिन्न निकायबाट भइरहेका कामको अध्ययन, समन्वय तथा अनुगमन गर्न संसदभित्र विशेष समिति गठन गर्ने निर्णय भएको छ । समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने र एक साताभित्र समिति गठन गर्ने पहल गर्ने निर्णय सर्वदलीय बैठकले गरेको थियो । –न्युज एजेन्सी नेपाल