|  

‘प्रधानमन्त्रीज्यू, शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ, शहीदका परिवारको पीडा सुन्न समय किन भएन ?’

३२ भदाै,काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले परिवर्तनका लागि भएको जेन-जी आन्दोलनमा आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरुलाई तत्काल न्याय दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरू न्यायको लागि सरकारको ढोका ढकढक्याइरहेको भएपनि सरकार त्यसतर्फ गम्भीर नभएको आरोप लगाए । उनले प्रधानमन्त्रीज्यु शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ, शहीदका परिवारको पीडा सुन्न समय किन भएन ? भन्दै प्रश्न पनि गरे । उनले जेलमा रहेका जेन–जी आन्दोलनकारीलाई समेत तत्काल रिहा गर्न माग गरे । उनले भने,‘जुन आन्दोलनले देशमा परिवर्तन ल्यायो त्यही आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरु आज पनि न्यायको लागि ढोका ढक्ढक्याइरहनुभएको छ । प्रधानमन्त्रीज्यू शहीदको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ । तर ती शहीदका परिवारको पीडा सुन्न समय किन भएन ? उनीहरुको प्रश्न सरल छ, न्याय कहिले पाउँछौँ ? म सरकारसँग स्पष्ट जवाफ र ठोस कार्यान्वयनको माग गर्न चाहन्छु । जेलमा रहेका जेनजीहरुलाई तत्कालै रिहा गरियोस् । हरेक वर्ष २३ भदौलाई आँशु झार्ने र फुलमाला चढाउने दिन मात्र नबनाइयोस् ।’

सांसद खतिवडाले हरेक वर्ष २३ भदौलाई शहीदको सम्झनामा आँशु झार्ने र फूलमाला चढाउने दिनमा मात्र सिमित नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।–न्युज एजेन्सी नेपाल